विदाई (लघुकथा)

 ढोका बाहिर उभिएर घण्टी बजाउँदै गर्दा ऊ असमञ्जस्यमा परेको थियो। दुई हप्ता अगाडि सम्म यो दुई कोठे अपार्टमेण्ट उसको पनि घर थियो, जहाँ उसले र स्पृहाले गृहस्थीको गुँड बनाएर बसेका थिए। तर त्यो अध्याय स्पृहासङ्गको सम्बन्ध छुट्टिनु अगाडिको थियो। ढोका खोल्दै स्पृहाले हास्दै भनिन्- “ओहो हामी तिमीलाई नै पर्खिँदै थियौँ, आऊ न भित्र”।


स्पृहा आज अर्कै थिइन्। केही दिन अगाडि पारपाचुकेको कागजात मिलाउने दिनमा उनले बबाल नै गरेकी थिइन्। समय समयमा निकै आक्रमक हुने उनको बानी सारा चिनेजानेकालाई थाहा थियो। तर सङ्गै जीउने मर्ने कसम खाएको पतिले भर्खरै भेटेकी केटीका लागि १० वर्षको सम्बन्ध चटक्क छोड्छ भने त्यसको बज्रपात बेहोर्ने उसको तरिका अन्यथा मान्न पनि त मिल्दैन थियो। फेरि उसले पनि मायाको प्रेमजालमा परेर स्पृहालाई धोका नै दिन त हुने थिएन। ऊ यही सोच्दै थियो, अपिसका कार्कीसर आएर “जाऔं सर खाना तिर लागौँ” भनेर उसलाई तानेर लग्यो।


त्यो सानो अपार्टमेण्टमा अपिसका लगभग सबैजना थिए। भोलिपल्टै क्यानडा जान लागेकी स्पृहाले विदाई डिनर भनेर सबैलाई डाकेकी थिइन्। 'नयाँ रिसेप्सनिष्ट सङ्ग लागेर मेरो पतिले मलाई धोका दिँदा अझै उसकै पक्ष लिएको' भनेर उनले अपिसका सारा स्टाफलाई पनि अस्ति मात्रै उग्रचण्डीको रुप दर्शन गराएकी थिइन्। तर आज उनी निकै शालिन् थिइन्, खुसी देखिन्थिन्। सायद यी सबै चीजबाट टाढा जान लागेकी उनले आफ्नो विगत सङ्ग कुनै गुनासो राख्न चाहेकी थिइनन्।


“ओहो, कस्तो स्वादिलो हौ खाना आज, अझ मटनको त कुरै नगरौँ”- सबै भन्दै थिए।

“अँ त, मैले मटनमा माया मिसाएर बनाएको हो नि त सर”- स्पृहाले हाँसेर भनिन्। 


सबै खाना खाएर निस्किन थाले, पार्टी सकिँदै थियो। जाने बेलामा उसले स्पृहालाई एक्लै पाएर- “आई एम् सरी फर एभ्ररीथिङ, तिमीलाई एक्लै पार्ने मेरो त्यस्तो मनसाय थिएन” भन्यो।

-“इटस् ओके, जे भयो भयो। जीवनमा हामी एक्लै आएका एक्लै नै जाने त हो। फेरि कुन बेला अकस्मात मान्छे जीवनमा एक्लो पर्छ, त्यो त थाहा नै हुन्न”।


ऊ घर पुग्यो, माया घरमा थिइनन्। आज स्पृहाकोमा अपिसका सबै जम्मा हुँदा पनि उनी त के जान सक्थिन् र? ब्याट्री सकिएर अफ भएको फोन चार्जमा राख्यो। फोन अन हुने बितिक्कै नोटिफिकेशनहरू आउन थाल्यो। ३ वटा मिस्ड कलहरू रैछन्, अनि मायाको एउटा मेसेज।


“डार्लिङ, सायद हामीले स्पृहा म्याम्‌लाई सरी त भन्नु पर्ला। तिम्रो फोन लागेन, म म्याम्‌कोमा अलिक चाँडै जान्छु, सरी पनि भन्छु हेल्प पनि गर्छु। सधैंका लागि विदेश जान लागेको मान्छेसँग के तुष राख्नु। सी यु देएर। -माया”


उ झसङ्ग भयो, मनमा चिसो पसे जस्तो भयो। मायाको फोनमा कल गर्‍यो, फोन स्वीच् अफ थियो।


“अँ त, मैले मटनमा माया मिसाएर बनाएको हो नि त..”, 

“कुन बेला अकस्मात मान्छे जीवनमा एक्लो पर्छ, त्यो त थाहा नै हुन्न..”


स्पृहाका यी दुई वाक्य उसले सम्झियो- अनि उसको हँसले ठाउँ छोड्यो।

Comments

Popular posts from this blog

स्वनिगः (काठमाडौं उपत्यका)को भौगर्भिक इतिहास

Let me live forever

Great Wall after 17 years