सरकार! म लङ्मार्चमा जाँदैछु
सरकार! म लङ्मार्चमा जाँदैछु। नझुक्किबक्सियोस् सरकार, हजुरले पार्टी दस्तावेजमा पढिबक्सेको जस्तो , यो देशका लागि लङ्मार्च होइन , पेटका लागि लङ्मार्च हो। देश बन्द भएपनि यी नानीका मुख खुलै छ, खल्ती त रित्तियो सरकार, पेटको ज्वाला तातै छ। विरानो शहरमा भोकै कति बस्नु हजुर, आफ्नै गाउँमा नुन-पानीले पेट भरौंला बरु। हिँडेर फतक्क गलेको ज्यान घिसार्दै, सरकार! म लङ्मार्चमा जाँदैछु। गरिबै मर्ने त हो, रोगले नमरे, भोकले मरौँला, उस्तै परे हिँड्दै गर्दा, थाकेरै मरौँला। हजुर चिन्ता नगरिबक्सियोस्, आश गरेको छैनौँ सरकार, बरु मेरो पदचापले हजुरको सुकला पो बिग्रियो कि, भोकले थालिएकी यी नानीको रोदनले, हजुरको सपना पो टुट्यो कि? रिसानी माफ होस् हजुर। सुन्निएर आफ्ना जस्तै नलाग्ने यी गोडा घिसार्दै, सरकार! म लङ्मार्चमा जाँदैछु हजुरले पार्टी दस्तावेजमा पढिबक्सेको जस्तो , यो देशका लागि लङ्मार्च होइन , पेटका लागि लङ्मार्च हो।