घर छोड्दा
जहाजमा बस्दा सम्म कुनै त्यस्तो भाव थिएन , जहाज चलायमान हुन थालेपछि भने मनमा अनेक कुरा खेल्न थाले , त्यो धावन मार्ग अझ लम्बिँदै जावस् भन्ने लागेको थियो। मन अब एक तमासको हुन थाल्यो। धुम्म तुवाँलो लागे पनि लाग्थ्यो कसैले हात हल्लाएर बिदाई गरेको देख्दैछु।अनि हेर्दा हेर्दै आकासिँदो जहाजको झ्यालबाट काठमाडौं बिस्तारै ओझेल हुन थाल्यो। अब मात्र एउटा कचौरा जस्तो देखिन थाल्यो त्यो ठाँउ जहाँ मैले अढाई दशक भन्दा बढी समय बिताँए। आमा - बाबा , भाइ-बहिनी साथी-सँगीहरू अनि खेलेका कुदेका सारा दृश्यहरू एक - एक गरि आउन थाले। जहाजमा सानो बच्चा निरन्तर रोइरहेको थियो। लाग्यो हाम्रो रुने भाग उसले पुरा गर्दैछ। " अहिले जिस्किँदै गर न , देश छोड्न कति गाह्रो हुन्छ पछि चाल पाउँछौ " - एउटा साथीले केही अघि भनेको कुरा अब म सम्झँदै थिएँ। नयाँ ठाउँ , अझ परदेशको ठाँउ , नयाँ सपना , नयाँ चुनौती - थाहा छैन के के भेटिने हो बाटो भरि ? अब यहाँ पुगेपछि लाग्दैछ , यहाँको रहनसहनमा भिज्न त परको कुरा यहाँको चाल चलन बुझ्न नै कति समय पो लाग्ने हो।