मुगु-कर्णाली उँभोतिर
एकदमै छोटो तयारीमा मुगुको यात्रामा जानु पर्ने भयो हामीलाई। त्यही दिन, १० भाद्रको रात्री बसबाट हामी चारजना काठमाडौंबाट सुर्खेत हान्नियौं। नयाँ ठाँउ घुम्न पाइने, साथै आफ्नो कार्यानुभव पनि बढ्ने भएकाले सो प्रस्ताव मैले स्वीकारेको थिएँ। सुर्खेत पुगेपछि थाहा पाइयो- मुगु जाने हवाइजहाजको टिकट पाउन मुस्किल रहेछ। अझ भनौं, त्यहोँ जाने यात्रुवाहक जहाज कम रहेछन्। पहिलो गाँस मै ढुङ्गा ! सुर्खेतको निस्सासिँदो गर्मीमा ५ दिनसम्म बिना काम बस्नु पर्यो। त्यस बीचमा सुर्खेतबाट मुगुका लागि मालवाहक जहाज त उडे तर यात्रुवाहक जहाज उडेनन्। छैठौं दिन, १६ भाद्रमा बल्ल बल्ल मालवाहक जहाजमै भएपनि उड्न पायौं- त्यो पनि यात्रुवाहक जहाजको भन्दा बढी भाडा तिरेर। ३८ मिनेटको उडान पछि ९ यात्रु बोकेको जहाज मुगुको ताल्चा विमानस्थलमा उत्रियो। निकै छोटो (करिब ६०० मिटर) धावनमार्ग भएको ताल्चा विमानस्थल निर्माणाधीन अवस्थामा थियो। विमानस्थलका कुनैपनि भवन थिएनन्। धावनमार्गको बीचैमा गोरेटो बाटो थियो-त्यहींबाट मानिसहरू हिँड्थे। सुरक्षा जाँच, यात्रु प्रतिक्षालय, अध्यागमन, आगमन सबै धावनमार्ग निर खुल्ला आकाश मुनि थियो। विमानस्थलबाट ...