Posts

Showing posts from 2013

भिन्नता

Image
रूख पहेलिंदै छन् यहाँ,  उता सयपत्री फुल्दा हुन्, झर्दा पात हाँगाबाट यता, धान बयेली खेल्दा हुन्, शिशिरको प्रतिक्षामा खाली आकाश यता,  उता नीलो आकाशमा चङ्गा कावा खाँदा हुन्।

यी भित्ताले नै किच्नेछन्

लाग्छ, यी चार भित्तै'ले, किच्नेछन् कुनैदिन मलाई। र निस्कनेछन् निचोरिएर,  सारा-सारा सपनाहरु छरपस्ट भई शरीरबाट। अनि भेट्नेछौ तिमीले, सपना निख्रिएको, किच्चिएको-पिसिएको मलाई, त्यही कहाली-लाग्दो उकालीमा शनै-शनै उँभो लाग्दै गरेको। ( At times,i do feel these walls, Closing in and crushing me, Squeezing out all my dreams,  Scattering them for you to see. And you might see me someday, With a battered and ragged face, Devoid of all dreams, trying to scale, Rugged hill of life, in an ever slow pace.) ある夢を全て絞り出して、 いつかこの壁が俺を、 押し付けような感じ る。 殻になった俺を見えるだろう、 あの苦難の山を、 ゆっくりと登ってるのは。

घर छोड्दा

Image
जहाजमा बस्दा सम्म कुनै त्यस्तो भाव थिएन , जहाज चलायमान हुन थालेपछि भने मनमा अनेक कुरा खेल्न थाले , त्यो धावन मार्ग अझ लम्बिँदै जावस् भन्ने लागेको थियो। मन अब एक तमासको हुन थाल्यो। धुम्म तुवाँलो लागे पनि लाग्थ्यो कसैले हात हल्लाएर बिदाई गरेको देख्दैछु।अनि हेर्दा हेर्दै आकासिँदो जहाजको झ्यालबाट काठमाडौं बिस्तारै ओझेल हुन थाल्यो। अब मात्र एउटा कचौरा जस्तो देखिन थाल्यो त्यो ठाँउ जहाँ मैले अढाई दशक भन्दा बढी समय बिताँए। आमा - बाबा , भाइ-बहिनी साथी-सँगीहरू अनि खेलेका कुदेका सारा दृश्यहरू एक - एक गरि आउन थाले। जहाजमा सानो बच्चा निरन्तर रोइरहेको थियो। लाग्यो हाम्रो रुने भाग उसले पुरा गर्दैछ। " अहिले जिस्किँदै गर न , देश छोड्न कति गाह्रो हुन्छ पछि चाल पाउँछौ " - एउटा साथीले केही अघि भनेको कुरा अब म सम्झँदै थिएँ। नयाँ ठाउँ , अझ परदेशको ठाँउ , नयाँ सपना , नयाँ चुनौती - थाहा छैन के के भेटिने हो बाटो भरि ? अब यहाँ पुगेपछि लाग्दैछ , यहाँको रहनसहनमा भिज्न त परको कुरा यहाँको चाल चलन बुझ्न नै कति समय पो लाग्ने हो।

मेरो बाटो यहिँ छ

Image
रोग, भोक चाहे बेथिति भन, सुगन्धित माटो यहिँ छ, अन्तै भुले पनि साथी तिमी, मेरो त बाटो यहिँ छ। उज्यालोको दर्शन खातिर, बिताउनु परे 'नि जुग यहाँ,  अविछिन्न ढुकढुक गर्ने यो, छातीको देब्रे पाटो यहिँ छ। पराईकोमा रम्दै होस् वा, भौतारिँदै आखिरमा, जतनले मिलाउँदै सिउनु पर्ने, त्यो मनको फाटो यहिँ छ।।