मुगु-कर्णाली उँभोतिर




एकदमै छोटो तयारीमा मुगुको यात्रामा जानु पर्ने भयो हामीलाई। त्यही दिन, १० भाद्रको रात्री बसबाट हामी चारजना काठमाडौंबाट सुर्खेत हान्नियौं। नयाँ ठाँउ घुम्न पाइने, साथै आफ्नो कार्यानुभव पनि बढ्ने भएकाले सो प्रस्ताव मैले स्वीकारेको थिएँ। सुर्खेत पुगेपछि थाहा पाइयो- मुगु जाने हवाइजहाजको टिकट पाउन मुस्किल रहेछ। अझ भनौं, त्यहोँ जाने यात्रुवाहक जहाज कम रहेछन्। पहिलो गाँस मै ढुङ्गा ! सुर्खेतको निस्सासिँदो गर्मीमा ५ दिनसम्म बिना काम बस्नु पर्‍यो। त्यस बीचमा सुर्खेतबाट मुगुका लागि मालवाहक जहाज त उडे तर यात्रुवाहक जहाज उडेनन्। छैठौं दिन, १६ भाद्रमा बल्ल बल्ल मालवाहक जहाजमै भएपनि उड्न पायौं- त्यो पनि यात्रुवाहक जहाजको भन्दा बढी भाडा तिरेर। ३८ मिनेटको उडान पछि ९ यात्रु बोकेको जहाज मुगुको ताल्चा विमानस्थलमा उत्रियो। निकै छोटो (करिब ६०० मिटर) धावनमार्ग भएको ताल्चा विमानस्थल निर्माणाधीन अवस्थामा थियो। विमानस्थलका कुनैपनि भवन थिएनन्। धावनमार्गको बीचैमा गोरेटो बाटो थियो-त्यहींबाट मानिसहरू हिँड्थे। सुरक्षा जाँच, यात्रु प्रतिक्षालय, अध्यागमन, आगमन सबै धावनमार्ग निर खुल्ला आकाश मुनि थियो। विमानस्थलबाट सदरमुकाम गमगढी नजिकै देखिएपनि झण्डै डेढ घण्टाको पैदल दुरीमा रहेछ। एक त ठाडो ओरालो, त्यसमाथि सिमसिम पानी परिरहेकोले चिप्लो; दुई घण्टा लगाएर हामी गमगढी बजार पुग्यौं।

हाम्रो अध्ययन क्षेत्र किम्री गाउँ गमगढीबाट दुई दिन टाढा पर्दथ्यो। एकरात गमगढीमै बिताएर १७ भाद्र शनिवार बिहान किम्रीबाट आएका स्थानीय पाँच सहयोगीहरूसँगै हामी किम्री तिर हिड्यौं। मुगु कर्णालीको तिरै-तिरै उकालो-ओरालो गर्दै बाटो उत्तर-पूर्व तिर लाग्दथ्यो। बिहानको खाना लुम्सामा खाएर हामीले पुन: यात्रा थाल्यौं। उर्लँदो कर्णाली र छातामा परेको वर्षाको आवाज बाहेक अरू केही सुनिएको थिएन। त्यो एकनासको आवाजसंगै हाम्रा पाइलाहरू पनि एकनासले चल्दै थिए। नदी किनारको बाटो पहिरोले बिगारेका कारण एक ठाँउमा डाँडामाथिको माङ्ग्री गाउँ पुगेर फेरि उँधो झर्नु पर्दथ्यो। उकालो काटेर माङ्ग्री पुग्दा साँझ परिसकेथ्यो। त्यसैले त्यस दिनको यात्रा माङ्ग्रीमै पुगेर टुङ्ग्यायौँ। स्थानीय गुम्बाका लामाको घरमा त्यस रात हामी बास बस्यौं। भोलिपल्ट बिहानै पैदल यात्रा फेरि शुरु भयो। बाटोका दुबै तिर झ्याम्म हुर्केका जङ्गली गाँजा र सिस्नोमा हाँगाहरू पन्छाउँदै हिँडेका हामी खानाका लागि पुलुमा रोकियौं। एकछिनको विश्राम पछि हामी गन्तब्य तिर अघि बढ्यौं।

अघिल्लो दिनको भन्दा हाम्रो गति केहि मन्द थियो। घाम डुब्ने बेलासम्ममा हामी नाम्लाङ् र मुगु खोलाको दोभानमा आइपुग्यौं। मुगु गाउँ र किम्री गाउँ जाने बाटो यहींबाट छुट्टिन्थ्यो। तर मुगु खोला माथिको पुल यो सालको बर्षे भेलले बगाएको थियो। पारि तर्न एक घण्टा माथिको पुलसम्म पुग्नुपर्थ्यो। किम्री जाने बाटो खोला पारि देखिन्थ्यो तर त्यहाँ पुग्न अब दुई घण्टा जतिको बाटो लम्बिएको थियो। टिस्टुपमा रहेको पुल तरी किम्रीतिर उकालो लाग्दा फतक्क गलेका थियौं। हिँड्दा-हिँड्दै झमक्क साँझ पर्‍यो, तर गाउँ आइपुगेन। मैले सानो छँदा सुनेको 'शिशिर-बसन्त'को कथा सम्झिएँ। पर आगो बलेको देखेर आगोतिर हिँडेका शिशिर जति अगाडि बढ्थे- आगो उति पर प्रतीत हुन्थ्यो 'रे। मलाई किम्री गाउँ पनि त्यस्तै लागेको थियो। दुई दिनको हिँडाई र उकालोले थाकेका हाम्रो अगाडि गाउँ एक्कासी देखापर्‍यो। बल्ल हाम्रो गन्तब्य आइपुगेको थियो- मुगु जिल्लाको किम्री गाउँ !
-------------------------------------

तिब्बती मूलका भोटे जातिका मानिसहरूको बसोबास रहेको किम्रीमा ३० घर जति छन्। खेतीपाती, चौंरी पालन मुख्य पेसा भएका उनीहरूको आयको प्रमुख स्रोत भने यार्सागुम्बा हो। बसन्त ऋतुका दुई महिना लेकतिर गएर यार्सागुम्बा टिप्ने र त्यसको बिक्रीबाट उठेको रकमले बर्षभरि चलाउने गरिन्छ। सोझा-सीधा भोटेहरूको पुस्तौं देखिको जीवन पद्धतिमा खासै परिवर्तन आएको जस्तो लाग्दैन। तर सरकारले बाँड्ने खाद्यान्न र गैर-सरकारी संस्थाहरूले गर्दा उनीहरूलाई बिस्तारै परनिर्भरता तर्फ लाँदै गरेको हो कि भन्ने अनुभव भयो हामीलाई। दुर्गम क्षेत्रका जनतालाई सरकारले सहयोग स्वरूप खाद्यान्न मात्र नबाँडी उनीहरूको जीवनस्तर उकास्ने कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्दथ्यो। स्थानीय रुपमा उपलब्ध उत्पादनहरूको विकास र उचित बजारका लागि पहल गर्नुपर्दथ्यो। यसो नहुँदा त्यहाँका बारीहरू बाँझो छोडिन थालिएका छन्। नि:शुल्क चामल आँउछ भने त्यो चट्टानी भीरमा किन पसिना खर्चिनु र ! उचित  बजारको अभावका कारण स्याउका बोटहरूमा मेहनत गर्न छोडिएको छ, स्याउका बोटहरू सुक्न थालेका छन्। विदेशी सहयोग स्वरुप आएको अन्न बाँडेर ती पिछडिएका नागरिकहरूप्रतिको आफ्नो दायित्व पुरा भएको सोच राज्यको छ। गरिब, निमुखा र पिछडिएका जनताको अवस्थालाई देखाएर टाठा-बाठाले धन कुम्ल्याउने गैर-सरकारी संस्थाहरूको महिमा त यहाँ के बखान गरौं ! गमगढीका घरपिच्छे जस्तो गैससका बोर्डहरू देखिन्थे। दुर्गम गाउँमा सहयोग भनेर पैसा दिएपछि त्यसबाट राम्ररी काम भएको छ कि छैन भनी हेर्ने फुर्सद सायद ती संस्थाहरूलाई थिएन। किम्री गाउँमै बाख्रा पालन, चर्पी निर्माण भनेर कार्यक्रम चलाइएछ तर ती कार्यक्रमहरू कुन अवस्थामा छन्- सम्बन्धित गैससहरू निरीक्षण गर्न आएका छैनन्। चर्पी बनाउन प्रत्येक घरधुरीलाई दिएको पैसाको सदुपयोग भएको छैन। गाँउभरि एक-दुई चर्पी मात्र बनाइएका छन्, तर त्यसलाई दाउरा थुपार्न प्रयोग गरिएको छ। चर्पी बनाउने कार्यक्रम ल्याएपछि चर्पी निर्माण भइञ्जेल निरीक्षण गर्ने र त्यहाँका जनतालाई चर्पी प्रयोग गर्ने चेतना विकास गराउनु पर्थ्यो। त्यहाँका वासिन्दा दिसा-पिसाब गर्न जङ्गलतिर जान्छन्, चर्पी प्रयोग गर्दैनन्। चर्पी बनाउन पैसा दिने तर सो प्रयोग गर्न उत्साहित नगर्ने नीति पो थियो कि ती संस्थाहरूको ? बाख्रा पालनका लागि पनि गाउँमा पैसा दिइएको रहेछ। गाउँमा बाख्रा त के, बाख्राको रौं पनि देखिएन। बाख्रा पालन कार्यक्रमको पनि निरीक्षण भएन। गैससहरूले गर्दा गाउँले कति परनिर्भर भएका छन् भने आफ्नो गाउँमा आउने पुल बगाएको महिनौं हुँदा पनि सो निर्माणको अगुवाई भएन। बरू दुई घण्टा बढी लगाएर हिँडेर आउँछन् तर पुल बनाउन कुनै संस्थालाई कुरेर बस्छन्। तीन दिन लगाएर बल्ल गाउँका युवा क्लबका युवाहरू मिलेर एउटा सानु साँघु सम्म तयार गरेका थिए। गाउँमा अस्पताल बनाइदिएको छ रे कुनै एक संस्थाले। तर अस्पतालको भवन छ ताला लागेको- कुनै स्वास्थकर्मी, कर्मचारी, ओखती-मूलो केही छैन। अस्पतालको भवन बनायो, गैससले त्यसलाई विदेशीसँग मागी खाने भाँडो बनायो र त्यसलाई बिर्सिदियो। गाउँमा एउटा प्रा.वि. छ। शिक्षक तराईका छन्, वर्षको तीन महिना जति गाउँमा बस्छन्। दशैं अगावै घर गएपछि छठ पछि आउँछन् अनि हिमपात भएपछि फेरि फर्कन्छन्। चैततिर आएर अन्तिम परीक्षा लिन्छन्, सबै विद्यार्थीलाई पास गर्छन् (सरकारी नियम अनुसार ५ कक्षा मुनिका विद्यार्थीहरूलाई अनुत्तीर्ण गर्न पाइन्न।) र वैशाखमा फर्कन्छन्।

वैशाख-जेठ 'किरा' (यार्सागुम्बा) टिप्ने सिजन भएकाले विद्यार्थी सब लेकतिर लाग्छन्, शिक्षक घरतिर। विद्यालयका शिक्षक वर्षायाम सिद्धिएपछि मात्र गाउँमा आउँछन्। यस्तो वार्षिक शैक्षिक तालिका हेर्दै बुझ्न सकिन्छ- त्यहाँको पढाईको स्तर कस्तो होला ? गाउँका कति युवाहरू काठमाडौंको बौद्धमा बस्छन्, लामा विद्या पढ्छन्, कोरिया, जापान, मलेसिया पुगेर आएका छन्, नयाँ-नयाँ मोबाइल सेट फेर्नमा सौख राख्छन् तर गाउँमा चर्पी बनाउनु पर्छ, सरसफाई गर्नु पर्छ भन्ने हेक्का राख्दैनन्। हामी गाउँमै रहँदा काठमाडौंमा पढेका एक युवा लामा गाउँमा आएका थिए। किम्री गाउँकै उनी बौद्धमा लामा पढेर कोरिया पनि बसेर आएका रहेछन्। गाउँमा नाच-गान गराएर ती जिन्स पाइन्ट र टी-सर्टमा सजिएका युवक-लामा भिडियो खिच्दै थिए। १२ वर्षका लागि अमेरिका जान लागेका उनी गाउँमा बिदा लिन आएका रहेछन्। बौद्ध समाजमा लामालाई निकै उच्च स्थान दिइदोँ रहेछ। उनलाई गाउँका केटा-केटी, युवा-युवती, बुढा-बुढी सबैले ढोग्दा रहेछन्। लामाका कुरा देव-वचन झैं हुने गर्छ। तर यी आधुनिक लामाले सामाजिक चेतनाका एक शब्द बोलेनन् सायद। सरसफाई, पढाई बारे उनले उनले कुरा गरेर, यी अत्यावश्यक कुरा हुन् मात्र भनिदिएपनि गाउँलेहरूले सो कुरा मान्दथे। वर्षौं विदेशमा बसेर आएका उनले गाउँलेलाई चर्पी प्रयोग गर्नुपर्छ सम्म भनेनन् बरू आफैं जङ्गलतिर लागे ! एक वर्ष अगाडि त्यहाँ एक अवतारी लामा हेलिकप्टर चढेर आएका थिए अरे। गाउँलेहरूसित भेटी स्वरुप धेरै पैसा लिएर गए तर गाउँलेको चेतना बढाउन सिन्को सम्म भाँचेनन् अरे ! धर्मका नाममा फाइदा उठाउने यी धर्मभीरू लामाहरू र गरिब गाउँलेको तस्वीर देखाएर धन सोहर्ने गैससहरूमा तात्विक रुपमा के भिन्नता रह्यो र? दुर्गम भेगको विकासका लागि पैसा मात्र नबाँडी त्यहाँका जनतालाई सामाजिक रुपमा र सरसफाई, स्वास्थ्य जस्ता कुरामा सचेत बनाई आत्मनिर्भरताका कार्याक्रमहरू चलाउनु पर्ने आवश्यकता हामीले देख्यौं।

-------------------------------------

झण्डै २० दिनको भौगर्भिक अध्ययन सिद्ध्‌याई हामी गमगढीतिर फर्क्यौं। त्यहाँको जनस्तर उकास्न अझ धेरै गर्न बाँकी छ भन्ने सोच्दै हामीले किम्री गाउँलाई छोड्यौं। यसपालिको वर्षाले दशैंको मुख सम्म पनि थामिने नाम लिएको थिएन। घाम र पानीको लुकामारी बीच पैदल हिँड्दै हामी असोज ६ को दिन विहानको खाना खान गमगढी आइपुग्यौं। गमगढीमा दशैं अगाडिको चहलपहल व्यापक थियो। सडक सामान ओसार्ने खच्चडहरूले भरिएको थियो। खाद्य संस्थानको गोदाम बाहिर खाद्यान्न लिनका लागि मानिसहरूको लामो लाम थियो। बैङ्कमा पैसा झिक्न सरकारी र गैर-सरकारी कर्मचारीहरूको भीड थियो। मुगुबाट तल झर्न ताल्चा विमानस्थलमा डेढ-दुई सय मानिसहरू जहाज कुर्दैछन् भन्ने हामीले सुन्यौं। गमगढीबाट ताल्चातिर चढ्दै गर्दा जहाजहरू ओहोर-दोहर गर्दै गरेको देख्यौं। यति धेरै जहाजहरूको आवत-जावतले गर्दा घर फिर्न धेरै गाह्रो नहोला भन्ने हाम्रो विचार थियो। भोलिपल्ट शनिबार रारा ताल घुम्ने र आइतवारको जहाजमा सुर्खेततिर झर्ने हाम्रो योजना थियो।  ताल्चा पुगेपछि थाहा पाइयो- जहाजको टिकट पाउन त महाभारत हुँदोरहेछ। यो कुरा हामीले चिताएकै थिएनौं। भोलिपल्ट विहान टिकट पक्का गरेर रारा जाने सोच बनाएर हामी त्यस रात थकाई मार्न निश्चिन्त भएर सुत्यौं।

शनिवार विहानभर खोज्दा-बुझ्दा पनि हामीले टिकट एजेण्टहरू चिन्न सकेनौं। गोमा एयरका एजेण्टहरूलाई खोज्दा दुई जना युवकहरूले हामीलाई थाहा छैन भने। ती व्यक्तिहरू नै गोमा एयरका एजेण्टहरू हुन् र हामीसँग ठाडै झुटो बोलेका थिए भनेर हामीले भोलिपल्ट मात्र थाहा पायौं। सबै एयरलाइन्सका कार्यालयहरू बन्द थिए, एजेण्टहरू सबै स्थानीय व्यक्तिहरू नै थिए, तर उनीहरूको अत्तो-पत्तो थिएन। थियो त केवल जहाज पर्खन र टिकट लिन जम्मा भएका यात्रुहरूको हुल। मुगुमा यात्रुवाहक उडान भर्ने दुईटा हवाई सेवा थियो- नेपाल वायुसेवा र तारा एयर। नेपाल वायुसेवाको जहाजको कुरा नगर्दै वेश ! एक त थोरै जहाज त्यसमाथि लथालिङ्ग व्यवस्थापनले गर्दा त्यसको मुगु उडानको ठेगान थिएन। तारा एयरले भने यात्रुको चाप हुने दशैंको बेला आफ्नो जहाज पूर्व तिर लगेको थियो। उता पूर्वी सेक्टरमा डलर तिर्ने विदेशी यात्रुलाई बोक्न छोडेर घर फिर्न चाहने नेपालीलाई बोक्न किन पो आउँथ्यो र ! परिणामत: मालवाहक जहाजहरू नै यात्रु बोक्ने भए। बढीमा ६-७ यात्रु बोकेर उड्ने ती जहाजहरूले यति धेरै यात्रुहरूलाई कहिले सम्ममा उड्ने पालो पुर्‍याउला? त्यसदिन उडानको ठेगान नभएपछि हामी पूर्व योजना मुताबिक रारा ताल तिर लाग्यौं।
-------------------------------------

समुद्री सतहबाट २७२६ मीटर जति उचाईमा रहेको ताल्चाबाट करिब दुई घण्टाको सल्लेरी वनको यात्रा पछि २९९० मीटर उचाईमा रहेको रारा ताल पुगिन्छ। नेपालको सबभन्दा ठूलो करिब ११ वर्ग कि.मी क्षेत्रफल भएको रारा तालको कञ्चन पानी र प्राकृतिक सुन्दरताले त्यहाँ पुग्दाको सबै थकान भुलाउने गर्छ। रारालाई त्यतिकै भू-स्वर्ग भनिएको होइन। शान्त तालको पानीमा वरिपरिका डाँडा, आकाश र बादलको प्रतिबिम्ब देख्न सकिन्थ्यो। प्राकृतिक सौन्दर्यको एक अनुपम उदाहरणको रूपमा रहेको रारामा दिउँसो १२ बजे पछि पानीमा छाल आउने गर्छ। हेर्दा हेर्दै तालको पानीमा छालहरू बढ्न थाले। ती पानीका छालहरूले ताललाई बेग्लै किसिमको सुन्दरता प्रदान गरिरहेको थियो। त्यही छालहरू निरन्तर आउने जाने क्रम हेर्दै हामी मन्त्रमुग्ध भइरहेका थियौं। हामीले साँच्चै अरू सबै कुरा भुलेका थियौं। पर्यटकीय आकर्षणका हिसाबले राराको निकै सम्भावना भएपनि नेपाल आउने पर्यटकहरूबीच यसको चर्चा थोरै भएजस्तो लाग्छ। रारालाई एक प्रमुख पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सके त्यहाँका जनताको जीवनस्तरमा सकारात्मक सुधार आउनेछ। तर आन्तरिक र बाह्य पर्यटक भित्र्याउन यहाँ थुप्रै काम गर्न बाँकी छ। त्यहाँ पुग्ने नियमित जहाज, बस्ने-खाने राम्रो व्यवस्था र त्यस क्षेत्रको सरसफाईमा ध्यान दिने हो भने यो गाह्रो काम भने अवश्य होइन।
-------------------------------------

मुगुको प्राकृतिक सुन्दरताले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकेपनि त्यहाँ पुग्ने र फर्कने व्यवस्था राम्रो नभएसम्म पर्यटन राम्ररी फस्टाउन सक्दैन। रारा ताल, प्राकृतिक छटा, जैविक विविधतालाई उपयोग गरेर पर्यटन क्षेत्रमा विकास गर्न सके त्यहाँका जनता लाभान्वित हुने थिए। गमगढीसम्म निकट भविष्यमा मोटरबाटो त पुग्दैछ तर बाह्रैमास चल्ने राम्रो सडक तयार हुन अझै समय लाग्नेछ। पदयात्रा गर्दै जुम्लाबाट पैदल आउने बाहेक त्यहाँ पुग्ने एउटै विकल्प ताल्चाको विमानस्थल नै हो। त्यसलाई व्यवस्थित गर्नसकेमात्र हामीले सोचेको प्रतिफल पाउन सक्छौं। पर्यटन वर्ष २०११ भन्दा भन्दै २०११ सिद्धिन थालिसक्यो तर यता तिर ठोस कदम चालिएको छैन।
मैले मुगुको यो भ्रमण ताका खिचेका नदी, झर्ना, हिमाल, रारा ताल जस्ता मनोरम प्राकृतिक वरदानका तस्वीर हेरेर मेरा स्वदेशी र विदेशी साथीहरूले मलाई सोधे: 'यो भू-स्वर्गमा जाने कसरी? कति दिन लाग्छ?' मैले भनें: 'काठमाडौंबाट नेपालगञ्जसम्म विमान वा बसमा र त्यहाँबाट जुम्लासम्म उडान पछि ३ तीनदिनको पदयात्रा रारा सम्म। होइन तिमी लामो पदयात्रा चाहन्नौ भने नेपालगञ्ज वा सुर्खेतबाट ताल्चासम्म उडान र त्यहाँबाट ३ घण्टा रारा सम्म पैदल। झण्डै ५ देखी ८ दिन।'
तर मैले उनीहरूलाई नभनेको कुरा पनि थियो: 'मुगु जान मैले सुर्खेतमा बिना काम ५ दिन विमान कुरें र फर्किन ताल्चामा ४ दिन। यदि अहिलेकै जस्तो अव्यवस्था रह्यो भने तिम्रो यात्रा अरू १० दिन जति लम्बिनेछ।'
xxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxx

Comments

bipin said…
Nice write up n thanx for sharing your experience.
Unknown said…
You should start writing again. I learnt few tips from you :)

Popular posts from this blog

स्वनिगः (काठमाडौं उपत्यका)को भौगर्भिक इतिहास

Let me live forever

Great Wall after 17 years